Friday, April 10, 2009

३०. हतार

हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार
कुन्नी के लाई हो हतार
थाहा छैन
तर पनि हतार छ
एकदमै साह्रै हतार छ
एकैछिन थकाई मार्ने मौका छैन
कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि
केहि गरी हाल्नु छ केहि गर्नु छैन र पनि
विना वित्थामा हतार छ
जव घडीको काँटा हतार हतार कुदेको देख्छु
जव डुव्दै गरेको घामलाई देख्छु
र मेरो अगाडी हिड्दै गरेको मान्छेलाई देख्छु
तव झन झन हतार लागेर आउँछ
समयको काँटा कुद्नुले
घाम डुव्दै जानुले
र मेरै अगाडी मान्छे हिड्दै जानुले
एउटा अर्को हतार जन्माउँछ
सायद त्यसैले होला हतारले हाल्फाल्दै कुदाईरहेछ
यहाँ सवैलाई हतार छ
मलाई मात्र होईन
किनकी म देखिरहेछु
सवै कुदिरहेछन् हतारहतारमा
हाम्फाल्दै हाम्फाल्दै कहाँ पुग्नलाई हो थाहा छैन
सोध्दा मात्र हतार छ भन्छन्
कसैलाई फुर्सद छैन भलाकुसारी गर्ने
हतारै हतार छ सवैलाई
हतार भन्दा अरु केहि छैन जस्तो छ यहाँ
किनकी हतार हुनुले यहि कुरा दर्शाउछ
आखिर यो हतार किन सवैलाई ?
हिजो पनि त थियो होला हतार
आजको जस्तै
त्यसैले भोलि पनि हतार नहुने कुरै भएन
ए ! बाबा यो हतार केलाई हो ?
बाह्रौकाल हतार
हामी के सम्झौता गरेकाछौ र हतारसँग ?
हतारले हतार लगाउँछ
हामीलाई थाहा छ
समय आउँछ रोकिदैन
निरन्तर गईरहन्छ
कस्ले रोक्न सक्छ र समयलाई ?
कस्ले भेट्न सक्छ र समयलाइ ?
मात्र हामी अनुभूति गर्र्छौ ती सवै समयको
सायद त्यसैले हामीमा हतार जागेको हुनुपर्छ
ओ हो यो कस्तो हतार ?
के लाई हतार ?
किन हतार ?
हिजो भन्दा आज हतार
आज भन्दा भोलि हतार
रफ्तार झन झन बढीरहेछ हतारको
हाम्फाल्दै जति कुदे पनि
हतार लागि रहन्छ
लौ हजुर केहि गर्दा भएन
हतार कहिल्यै रोकिएन
हतार कहिल्यै सकिएन
हतार पछि हतार आईरहेछ र गईरहेछ
के हो यो हतार ?
चाहे जे सुकै होस्
दुनियाँलाई हतार छ ले हतार लगाएको छ
समयको काँटा भन्दा पनि हतार
हाम्फाल्दै कुदने वनाएको छ
हतार भन्दा हतार

२९. गोरेवहादुरहरु

हिजो तागाधारीको विरुद्धमा कलम समाउनेहरु
जनजाति हु भनेर उत्ता हिन्दुधर्म मान्नेहरु
दशै हाम्रो चाड हुदै होईन भनेर
खुसुक्क दशै मनाउनेहरु
विजया दशामीको दिन निर्धक्क
पुरेतहरु कै हातवाट
टीका थापेर जमरा सिउरदै भने
धेरै वर्षपछि टीका थाप्दा साह्रै मजा भो
यसरी आफ्नै वोलीवचनमा आफैलाई खिल्ली उडाएर
प्रतिष्ठालाई दहि चिउरासंग मुछेर हसुरे पछि
निमेष भर मै गर्लाम्म ढले अहिन्दुहरुको आखामा
गोरेवहादुरहरु

स्वामी प्रपन्नचार्यको उपदेश पीएर
अहिन्दु मंगोलहरु
हिन्दुहरुको पुरानो सिरक ओढ्दै भने
पुरानो चलन भनेर पो टीका लायौ
टीका लाएर के भो ?
आखीर वडादशै मनायौ
हिन्दुहरु पनि त ल्होसारमा आउछन्
चासोक तङनाममा च्याव्रुङ ठोक्दै धान नाच्छन्
चण्डीमा खुट्टा मर्काउदै साकेलामा छाउछन्
र भने धर्मनिरपेक्ष भैसक्यो
नेपाल
जातिपाती,छुवाछुत र धर्मको कुरा नगर
आजको माग भनेको धार्मीक सहिष्णुता हो
तर निधारमा टीका टासेर
दुनियाको नजरमा आफैलाई उपहास गरे
गोरेवहादुरहरु

इतिहासले भन्छ
आदिवासी जनजातिहरुको चाड
हुदै होइन दशै
थाहा पाएर वुझ पचाउछन् अहिन्दुहरु
हरेक जनजातिको
महानचाड हुन्छ भनेर
कति पटक म फलाकु देवारीले झैं
तै पनि किन छायामा परेकाछन्
हाम्रा महानचाडहरु ?
र किन राष्ट्रिय चाड वनेनन्
ती चाडहरु ?
हिजो संस्कार लादेर पेलियौ हामी
शासनसत्ताको वुटले
कति कति थिचीयौ
अनि उपल्लो भन्ने अभिजात वर्गको
प्रवृतिले त्यसै त्यसै हेपीयौ
हिजो जे भयो भयो
अव त्यो कदापी हुने दिनु हुदैन
तर पनि अहिन्दु हु भन्ने थाहा हुदाहुदै
टीका लाउने रहर पो
साचेका रहेछन्
गोरेवहादुरहरु

देशमा पुरानो मान्यता भत्काएर
नयाको सुरुआत भैरहेको वेला
हरेक जातिले आफ्नै र्
धर्म,संस्कार र संस्कृति खोज्ने,वुझने वेला
हामी कति भदौमा आखा फुटेको डींगो भएका छौ
सधैसधै हरीयो मात्रै देख्ने
कि त धर्मको स्लोपोइजनले भ्रमीत भएर
सुकेको पराललाई हरीयै देखिरहेछौ
यो हाम्रो अज्ञानता हो
यो हाम्रो महाभुल हो
तर साचो कुरा तितो हुन्छ उनीहरुलाई
वरु महानता सम्झीन्छन् दशै मनाउन
गोरेवहादुरहरु

परिवर्तीत समयको वेग भेउ नपाउनेले
समयसापेक्ष छु भनेर किन ढाट्ने
आफैलाई
आखा देखेर पनि अन्धोछु भन्नेहरुलाई ?
वोली आएर पनि लाटोछु भन्नेहरुलाई ?
अव हाम्रो भन्नु केहि छैन
मात्र यति भन्छौ
व्युझ,जाग र आफैलाई चिन
यदि समानता चाहान्छौ भने
यदि जातिय पहिचानको शीर ठाडो
राख्न चाहान्छौ भने
तर हिजो सम्म दशै वहिष्कार गरेर हिड्नेहरु
आज दशै हाम्रै महानचाड हो भन्दैछन्
गोरेवहादुरहरु

२८. म र मान्छे

सजिव मांसपेसीले छोपीएको
जीवित अस्थिपञ्जर

मान्छे
केवल एउटा मान्छे हुनु भन्दा पर
अरु साइनो छैन केहि
मान्छेले ग्रहण गर्नु पर्ने त्यो जीवन
म संग विल्कुलै छैन
खोक्रो अत्यान्तै खोक्रो
केहि नभए जस्तो
शुन्यतामा पाइरहेछु आफैलाई
जो हुनु पर्ने सुन्दर जीवन
जो पाउनु पर्ने अशल जीवन
म मात्र देख्छु
वारम्वार देखिरहन्छु
तर त्यो आफ्नो वन्दैन
अथवा म हुदैन त्यो
केवल छचल्किरहन्छ मेरै नजरको सम्मुख
र कता हो कता वतासिन्छ
म भन्नु मात्र प्रतीक भएको छु
मान्छेको
म मै बाट वाहिरीए पछि
म मै बाट हराए पछि
म मान्छे देखिनु
केवल त्यो मान्छे भएर मात्र हो

मान्छे भएर
मैले चाहे जस्तो जीवन कहाँ पाएको छु र?
मात्र जीवन जीएकोछु
त्यसैले अहिले सम्म मैले
मान्छे हुनुको अनुभव गरेको छैन
म भित्र भएको मान्छेलाई
खोज्दै हिड्दा
कुल्चेको छु मैले
समयका अप्ठ्यारा लेकवेसी र कुइनेटाहरु
र सहेको छु त्राणको लागि असैह्य पीडाहरु
तर खोई त्यो मैले खोजेको मान्छे ?
काहा छ ?
वरु खोज्दा खोज्दै म
हराएकोछु आफैसंग
कराएकोछु आफैसंग
नपाउनुको चोटले
घाइते भएकोछु आफैसंग
तर मैले देखेको छु
मान्छेले आफ्नो जीवन पाएको
सुन्दर
सुखी
हुन सक्छ जस्ले त्यस्तो जीवन भोगेकोछ
उसलाई जीवन जस्तो नलाग्न सक्छ
त्यो त थाहा भएन
किनकी मैले उसको जस्तो जीवन पाएको छैन
अथवा मेरो जस्तो जीवन उसले देखेको छैन
मात्र त्यो मेरो अन्दाज हो
कि त्यो जीवन यस्तै होला भनेर
त्यसैले
म मात्र म हु
सजिव मांसपेसीले छोपीएको
जीवित अस्थिपन्जर

मान्छे
केवल एउटा मान्छे हुनु भन्दा पर
अरु साइनो छैन केहि
तर पनि धुइपताल खोजीरहन्छु
म भित्रको मान्छे
अथवा मान्छे भित्रको म

२७. समयको नया अनुहार

हरेक दिन नया सडकमा
जिन्दावाद र मुर्दावादको नारा जुलुस
अनगिन्ति मागहरु
पुरा गर्न भूगोलपार्कमा
जारी हुन्छन् रिले अन्सन र आमरण अन्सनहरु
दवावमूलक पर्चा पोष्टर र विज्ञाप्तिहरु
छरीन्छन् शहरभरी
त्यसपछि सुरु हुन्छ मसाल जुलुस
अनि चक्काजाम
जस्ले मेची देखि महाकाली सम्मको
नेपाल वन्द भैदिन्छ
तव यात्रुहरु वाटो मै अलपत्र पर्छन्
विरामीहरु अस्पताल नदेख्दै विदा हुन्छन्
व्यापरीहरुको व्यापार चौपट्ट वनिदिन्छ
देश कतातिर मोडिदै छ
त्यो कसैलाई मतलव छैन
मात्र नया आन्दोलनले दिएको स्वतन्त्रता भोग्न
हतारीएका छौ हामी सवै
हतारमा उठार्इन्छन् वुदाहरु
र दवाव दिईन्छ सरकारलाई
आन्दोलनकारी र सरकार वीच
असहमती भए पछि
एकाएक लाठीचार्ज भैदिन्छ
अनि वन्दुक कुर्लन्छ
सडकमा
लाशहरु देखिन्छन्
सन्सनीपूर्ण समाचार वन्छ
रेडियो टेलिभिजन र अखवरहरुको लागि
सामान्य घट्ना हुन यी आजभोलिका
त्यो हामीले नचाहेर पनि
पढ्नु पर्छ,सुन्नु पर्छ
देख्नु पर्छ,भोग्नु पर्छ
आन्दोलनले दिएको नया उपलब्धि
परीवर्तनले जन्माएको नया अनुहार
जो हामी दिन प्रतिदिन भोगीरहेछौ
घट्ना पछि
अक्सर सरकारले
एउटा आयोग गठन गर्ने गर्छ
र आयोगले जाचवुझ पछि
प्रतिवेदन सार्वजानीक गर्छ यसरी
त्यहा निर्दोषहरु मारीएका छन्
त्यहा धनजनको क्षति भएकोछ
पत्रकार सम्मेलन मार्फत
हंगमा मच्चाईन्छ
क्षतिपूर्तिका कुराहरु उठ्छन्
जसलाई सरकारको दायित्व ठहर्यार्इन्छ
पत्रपत्रिकाहरुमा वहस सुरु हुन्छ
श्रृंखलावध्द र्
तर्कवितर्क छापीन्छ वुध्दिजीवीहरुको
र अन्तमा मानवअधिकारकर्मीहरु कुर्लन्छन्
अनि देशभरी तातो समाचार मडारीन्छ
अरु व्यापार चौपट्ट भएको वेला
पत्रपत्रिकाको व्यापार फष्टाउछ
सम्वेदनाहरु छापीन्छन्
मर्नेहरुको
सदनमा कुन पार्टीले
आफ्नो शहिद वनाउने भनेर
होडवाजी मच्चिन्छ
त्यसैले अव युध्दमा जानु पर्दैन
शहिद वन्नको लागि
जहा जसरी ढले पनि
जहा जसरी मरे पनि
कुनै एउटा पार्टीले
झण्डा ओढार्इ दिए पछि
त्यो शहिद वनिदिन्छ
अनाम शहिद
मात्र समाचारमा छापीने
समाचारे शहिद
तत्पाश्चात
घट्नाहरु
सेलाउदै जान्छन्
विलाउदै जान्छन्
जनमानसवाट
तर पीडीत पीडा मै जलिरहन्छ
यसरी हिंसाको परीवर्तीत स्वरुप
आन्दोलनको उपलब्धि ठानेर
हामी उपयोग गरीरहेछौ
समयको नया अनुहार
भयावह हुदै जादा पनि
हामी त्यसलाई सहज सम्झीरहेछौ

२६. जिउनुका क्रम उपक्रमहरु

पछ्याउँदा पछ्याउँदै
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थालेपछि
अनगिन्ति उकाली र ओह्रालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन्
तव जिउने क्रमका सीधा धर्साहरु
अस्वभागिक रुपले
बाङ्गोटिङ्गो बन्न थाल्छन्
अनि नचाहेरै पनि संकट मोलेर
कठिनाईसँग पौँठेजोरी खेल्नु पर्छ
र झेल्नु पर्ने अनेकौ पाटाहरु पार गर्दै
समय सापेक्ष बन्नको लागि
तिनै स्वरुप बद्लिएका गोरेटाहरुलाई
पछ्याउन विवश बन्नु पर्छ
सहज यात्राको खोजीमा
जब पाईलाहरु अगाडि बढ्न खोज्छन्
तब तिनै जिउनुका क्रम उपक्रमहरु
मडारिन थाल्छन् अनेकौ समस्याहरुको हुरी बताससँग
तै पनि जोखिम यात्रालाई पछ्याउनु परेकै हुन्छ
यसरी नै हरेक मान्छे
जीवन जिउनुको नाममा
फँस्दै जान्छ कहाली लाग्दा गोरेटाहरु पछ्याउँदै
सवैलाई लाग्छ यस्ता गोरेटाहरु नाँघ्दै जाँदा
गन्तव्यमा पुगिन्छ
आखिर कहाँ छ त्यो गन्तव्य ?
किन कसैले किटान गर्न सक्दैनन् ?
कि, त्यो नै अन्तिम गन्तव्य हो ?
यहाँ त अन्तिम भन्नु पनि झुटो मात्र रहेछ
किनकि अन्तिमपछि पनि
अनगिन्ति अन्तिमहरु हुँदारहेछन्
अब कुनलाई अन्तिम गन्तव्य ठान्ने ?
जब कि, अन्तिम सोंचेको र ठानेको गन्तव्य नै
अन्तिम नभई दिएपछि
जीवन यसरी नै सत्यताको खोजीमा
झुटोको आवरणभित्र फँसिरहेको हुन्छ
तर पनि बाँचुन्जेल अनेकौं आँधी-वेहेरीको सामना गर्दै
अगाडि बढ्नुलाई जीवन ठान्दछ,
वास्तवमा त्यो त जिउनुको क्रम-उपक्रम मात्र रहेछ
आखिर पछ्याउँदा पछ्याउँदैका
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थालेपछि
अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन्
तव जिउने क्रमका सीधा धर्साहरु
अस्वभागिक रुपले
बाङ्गोटिङ्गो बन्न थाल्छन् ।

२५. महाशय !

महाशय !
किन अपमान गर्दै हुनुहुन्छ कवि र कविताको ?
के एउटा कविता च्यातेर,
कविको विचारलाई च्यातिदिएँ भन्ने ठान्नुहुन्छ ?
देश र जनता हुन्
कवि र कविता ।
के सारा जनतालाई दमन गरेर
सत्ता टिकाउन सक्नुहुन्छ एक्लै ?
के देश र जनताको साथ चाहिन्न र महाशयलाई ?

महाशय !
कवि, कवितामा बाँचेको हुन्छ ।
कवि, कविताको सुन्दर छटामा हाँसेको हुन्छ ।
के कविको सुन्दर कवितालाई च्यातेर न्याय गरेझैं लाग्छ ?
कविको एउटा कविता च्यातेर,
महान नठान्नु होला महाशय !
किनकि कविसँग अनेकौ शक्तिशाली र खतर्नाक कविताहरु हुन्छन्,
एउटा सुन्दर र निर्दोष कवितालाई च्यात्न सक्नुहोला
तर खतर्नाक कवितालाई कहिल्यै च्यात्न सक्नुहुन्न ।
किनभने त्यो कविता निडर हुन्छ, व्रिद्रोही हुन्छ,
बरु उल्टै महाशयलाई च्यातिदिन सक्छ,
आफैले कविता च्यातेझैं,
किनकि कविको खतर्नाक हतियार हो कविता ।

महाशय !
राम्ररी सोँच्नुहोला,
कविताको हत्या अपहरण किन गर्दै हुनुहुन्छ ?
महाशयलाई थाहा छ, कविता सबैलाई मनपर्छ
र कविता महाशयलाई पनि मनपर्छ,
तर किन क्रुर बन्दै हुनुहुन्छ,
कवि र कविताको लागि ?
महाशयलाई थाहै होला,
अस्तिको जनआन्दोल-२ मा
कति कविताहरु कुटिए / लुटिए / भुटिए
कति कविताहरु शहीद भए,
के त्यसको लेखाजोखा छ महाशयसँग ?
नहुन सक्छ,
किनभने आदेश मात्र पालना गर्नुहुन्छ महाशयले ।
के यो देशको सच्चा नागरिक भएर,
कहिल्यै सोँच्नुभएको छ,
कवि र कविताको सम्मान गर्नुपर्छ भनेर ?

महाशय !
थाहा पाई राख्नुहोस्
म कवि हु कविता लेख्ने,
त्यसैले देशको कविता लेख्छु,
र्सवाङ्गीण विकासको कविता लेख्छु,
जनचेतनाको कविता लेख्छु,
देशवासीको सुख-दुखको कविता लेख्छु,
यसरी लेखिएको कविताको दुश्मन कसरी बन्नुभयो ?
के व्यक्तिस्वार्थको लागि त्यसो गर्नुभएको त होइन ?
म बारम्बार देखिरहेछु,
कवि र कविताको विरुद्घमा हुनुहुन्छ,
देश र जनताको लागि लेखिएको कविता
के कहिल्यै पढ्नु भएको छ ?
यदि पढ्नु भयोभने,
त्यहाँ नेपाली सुगन्ध पाउनुहुन्छ,
त्यहाँ प्राकृतिक सुन्दरता देख्नुहुन्छ,
त्यहाँ जाति, भाषा, संस्कृति भेट्नुहुन्छ
त्यहाँ वहुल विचारको चौतारी टेक्नुहुन्छ,
त्यसैले कवि कहिल्यै देशद्रोही हुँदैन ।

महाशय !
कविले देश बेचेर खान जान्दैन,
कविले आफैलाई वन्दकी राख्न खोज्दैन,
कविले ऋणै ऋणको भारी बोकेर हिँड्न चाहँदैन,
कवि सधैँ उन्मुक्ती चाहन्छ,
कवि सधैँ स्वतन्त्रताको वकालत गर्छ,
त्यसैले महाशयको विरुद्घमा
कविता लेख्छ कवि,
त्यो महाशयलाई मन पर्दैन,
किनकि महाशयले च्यात्नु भएका सवै कविताहरु,
महाशयकै विरुद्घमा
लेखिएका कविताहरु थिए ।
महाशय !
२३८ वर्षदेखि थिचिँदै आएका कविताहरु,
आज आफ्नो हक-अधिकार खोज्दै उठेकाछन् ।
जाति, भाषा, संस्कृति खोज्दै उठेकाछन् ।
किनभने, यो देश, मात्र कथित जातिहरुको होइन,
यो देश, सम्पूर्ण कविताहरुको देश हो ।
महाशयलाई सपनाजस्तै लाग्न सक्छ,
किनकि, भर्खरै मात्र कविताहरुको जनआन्दोलन -२ ले
वन्दुक हारेको छ,
शासक हारेको छ,
राजा हारेको छ,
त्यसैले कविताहरु अहिले कविता भएकाछन् ।
थाहा पाई राख्नुहोस् महाशय !
कवि र कविता भनेका देश र जनता हुन् ।

२४. आजको अस्व

अ अथवा अस्तित्व
स्व अथवा स्वभिमान
हरेक देश र जनतासंग
गासीएको
टासिएको
अलङ्कार हुन् यी दुइ अक्षरहरु
त्यो हरेक देश र जनताको लागि प्रीय हुन्छ
अ र स्व अथवा अस्व
कुनै देश
र जनताले गुमाउन चाहदैनन्
जव अस्व गुम्छ
तव त्यो देश देश रहदैन
र जनता जनता हुदैनन्
अथवा देश र जनता भए पनि
कठपुतली वन्नु पर्छ कसैको
त्यसैले त अस्वको लागि
हरेक युगमा हरेक देशमा
हरेक मान्छेमा युद्घ वाचीरहन्छ
कस्लाई सह्य होला र ?
स्वभिमान खोसीएको
कस्लाई मञ्जुर होला र?
अस्तित्व लुटिएको
त्यसैले अस्व गुमाउनु भन्दा
देश युद्घघोष गर्न तयार हुन्छ
र जनता देशको लागि वलि चढ्न तयार हुन्छन्
तसर्थ हरेक देश र जनतालाई
अति प्रीयकर हुन्छ अस्व
तर विडम्वना त्यहि अलङ्कारहरु
युगौ देखि कुल्चेकाछन् लुटेकाछन्
त्यसको विरुद्घमा आवाजहरु उठाए पनि
ब्यर्थ भएकाछन् ती आवाजहरु
किनभने लुटिनेहरु लुटिएकैछन्
कुल्चिएकाहरु कुल्चिएकै छन्
यहाँ त कसैको स्वभिमानलाई कुल्चिएर उभ्नु पनि
स्वभिमानै ठान्छन् मान्छेहरु
र अस्तित्वलाई अपहरण गर्नुलाई पनि
मानवता नै सोच्छन् मान्छेहरु
यो कस्तो मत्स्यन्याय हो ?
जव कि देश र जनतामा स्वार्थ पूर्तिको लागि
स्वभिमानको हवला दिएर
अरुको स्वभिमानलाई आफैले हडप्नु ?
र मानवताको वकालत गरेर
निर्दोष र निरीहहरु माथी हमला गर्नु
चरीत्र वनेकोछ आजका हिट्लरहरुको
अरुको सामु अस्वको वखान गरेर
भित्र हिंसा र हत्याको योजना वुन्छन्
त्यसैले वर्तमान भयानक संकटहरु ब्यहोर्दै गुज्रिरहेछ