Friday, April 10, 2009

२६. जिउनुका क्रम उपक्रमहरु

पछ्याउँदा पछ्याउँदै
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थालेपछि
अनगिन्ति उकाली र ओह्रालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन्
तव जिउने क्रमका सीधा धर्साहरु
अस्वभागिक रुपले
बाङ्गोटिङ्गो बन्न थाल्छन्
अनि नचाहेरै पनि संकट मोलेर
कठिनाईसँग पौँठेजोरी खेल्नु पर्छ
र झेल्नु पर्ने अनेकौ पाटाहरु पार गर्दै
समय सापेक्ष बन्नको लागि
तिनै स्वरुप बद्लिएका गोरेटाहरुलाई
पछ्याउन विवश बन्नु पर्छ
सहज यात्राको खोजीमा
जब पाईलाहरु अगाडि बढ्न खोज्छन्
तब तिनै जिउनुका क्रम उपक्रमहरु
मडारिन थाल्छन् अनेकौ समस्याहरुको हुरी बताससँग
तै पनि जोखिम यात्रालाई पछ्याउनु परेकै हुन्छ
यसरी नै हरेक मान्छे
जीवन जिउनुको नाममा
फँस्दै जान्छ कहाली लाग्दा गोरेटाहरु पछ्याउँदै
सवैलाई लाग्छ यस्ता गोरेटाहरु नाँघ्दै जाँदा
गन्तव्यमा पुगिन्छ
आखिर कहाँ छ त्यो गन्तव्य ?
किन कसैले किटान गर्न सक्दैनन् ?
कि, त्यो नै अन्तिम गन्तव्य हो ?
यहाँ त अन्तिम भन्नु पनि झुटो मात्र रहेछ
किनकि अन्तिमपछि पनि
अनगिन्ति अन्तिमहरु हुँदारहेछन्
अब कुनलाई अन्तिम गन्तव्य ठान्ने ?
जब कि, अन्तिम सोंचेको र ठानेको गन्तव्य नै
अन्तिम नभई दिएपछि
जीवन यसरी नै सत्यताको खोजीमा
झुटोको आवरणभित्र फँसिरहेको हुन्छ
तर पनि बाँचुन्जेल अनेकौं आँधी-वेहेरीको सामना गर्दै
अगाडि बढ्नुलाई जीवन ठान्दछ,
वास्तवमा त्यो त जिउनुको क्रम-उपक्रम मात्र रहेछ
आखिर पछ्याउँदा पछ्याउँदैका
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थालेपछि
अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ती र मोडहरु छाउन थाल्छन्
तव जिउने क्रमका सीधा धर्साहरु
अस्वभागिक रुपले
बाङ्गोटिङ्गो बन्न थाल्छन् ।

No comments: