Saturday, June 28, 2008

१. आउनुहोस्

आउँनुहोस्
एकैछिन भए पनि
आस्था र विश्वास रोपीएको चौतारीमा
भलाकुसारी गरौ
सन्चो र विसन्चोको
अनि चर्चा गरौ विद्यमान परिस्थितीको
गाउँ ,वस्ति र शहरमा वसोवास गर्ने
उस्तै हामी नेपाली
समयको काँटासँगै हतारमा
कति भागदौड मात्र गर्ने ?
एकैपल भए पनि
पीडाग्रस्त मनहरु विसाएर
अलिकति सोचौ
हाम्रो सुन्दर भविष्यको वारेमा
र छलफल गरौ
देशले भोगेका दुर्गतिहरुको वारेमा

एउटै देशका हामी बहुल जनता
बहुल संस्कृति भाषा र लिपिहरु
तर सवैको उस्तै पीडा र भोगाईहरु छन्
तर सवैको उस्तै कथा र व्यथाहरु छन्
त्यसैले साझा यो चौतारी जस्तै देशलाई
कसैले विखण्डन गर्नु हुदैन
कसैले बाड्नु चुड्नु हुदैन
कसैले विरुद्धमा सोच्नु हुदैन
किनकी देश हामी सवैको साझा हो
देश भएर हामी छौ
हामी भएर देश छ
त्यसैले हाम्रा समान विचारहरुको
सम्मानमा एकले अर्काको गर्नु पर्छ
समान छन् हिड्ने वाटाहरु
समान छन् हेर्ने समान दृष्टिहरु
समान छन् पुग्ने लक्ष्यहरु
समान छन् जिउँने आधारहरु
तसर्थ अस्तित्वको हिफाजत गरौं
र हामी रमाउँने माटोको रक्षा गरौं

आउँनुहोस्
यो समानताको घरमा वसेर
हामीले महत्वपूर्ण निर्णयहरु गर्नु छ
हाम्रो भविष्य हाम्रो देशको लागि
र सद्भावको पारीलो घामहरु बोकेर
एकअर्का विचको वैमान्यस्यताका हटाउँनु छ
भ्रष्ट विचारहरुलाई कुल्चनु छ ।
द्वन्द र द्वेशलाई विर्सीनु छ
भातृत्वको अङ्गालो हाल्नु छ
किनकी हामी एउटै देशका उस्तै जनता हौं
सुन्दर विचारको मुहान खोलेर
आपसी हितकै कुराहरु गर्नुपर्छ
द्वन्दका घाउहरुमा मल्हम लगाएर
पहिरो गएको आत्मीयतालाई जोड्नु पर्छ
सुमधुर सम्वन्धका पुलहरु बनाउँनु पर्छ ।
केहि क्षणको आवेगमा
आफ्नै घरको सर्वनाश गर्नु
कदापी उचित होईन
वरु सोचौ अलिकति भएपनि
आफ्नै घर निर्माणको वारेमा
आफ्नै देश विकासको वारेमा
किनकी हामी एउटै घरका
एकै परिवार जस्तै हौं
अव हामीले वुझ्नु पर्छ घरको गरिमालाई
अव हामीले सोच्नु पर्छ परिवारको महत्वलाई
मपाईत्वको ताण्डप नृत्य गरेर
कलहको वीउ रोप्नु
केवल निरर्थक छ सवैको लागि
किनकी हाँस्नको लागि देशमा शान्ति चाहिन्छ
बाँच्नको लागि स्वतन्त्र देश चाहिन्छ

त्यसैले
आउँनुहोस
एकै पलक भए पनि
उदेश्यका घुम्टोहरु ओढेर
पुनर्संरचना गरौ यो सुन्दर देशलाई
त्यागौ युद्धका मोर्चाहरु
र अङ्गालौ वुद्धका सन्देशहरु
सगरमाथा जस्तै अग्लो नेपालको गौरव
हामीले विश्व सामु वचाउँनु छ भने
हो यहि कुरा सोचौं हामी सवैले
एकैक्षण भए पनि
शुन्दर शान्त यो मातृभूमिको लागि
शुन्दर शान्त यो देशको लागि

No comments: