Saturday, June 28, 2008

२. देश र क्रसफायरिङ्ग

उहिले लाहोरबाट
निभृत भएर फर्किएको
लाहुरेले
आफ्नो स्मृति कथा सुनाउँदा
क्रसफायरिङ्गका कुरा गर्थे
हामी केटाकेटी
रोमाञ्चित भएर सुन्ने गर्थ्यौ
र सोध्थ्यौ
क्रसफायरिङ्ग भनेको के हो ?
उसले भन्थ्यो
हामी सुनी रहन्थ्यौ
मलायाको जंगलमा
वन्दुकको ड्याम्म...डुम्म...आवाजसंगै
छेवैका साथीहरु ढल्थे
र गोलीहरु आगोका झिल्का झैं
माथि आकासमा देखिन्थे
उसले भन्थ्यो
हामी सुनी रहन्थ्यौ
वोर्नियोको जंगलमा
मेसीन गनको भुटुटु... भुटुट...आवाजसंगै
छेवैका साथीहरु भुटिन्थे
र गोलीहरु आगोका फिलुङ्गा वनेर
छेउ मै आईपुग्थे
मर्नु र वाच्नुको दोसाँधमा उभेर
हामी बाँच्नेहरुले
भाग्यवश जन्मभूमि नेपाल देख्यौं
उसले क्रमश भनिरहन्थ्यो
हामी निरन्तर सुनीरहन्थ्यौ
मलाया र वोर्नियोको क्रसफायरिङ्गले
धेरै नेपालीले नेपाल देख्न पाएनन्
धेरै नेपालीले परिवार भेट्न पाएनन्
त्यसवेला आफ्नो छातीमा
झुण्डिएको तोक्मा छाम्दै
उसले रोएको हामीले देख्यौ
त्यसवेला रुनुको अर्थ हामीले वुझेनौ
मात्र रमिते वनिरह्यौं
उसको पीडाले
हाम्रो अवोध मस्तिष्कलाई छोएन
त्यसैले हाम्रो मन पनि रोएन
त्यसकारण क्रसफायरिङ्ग भनेको
हामीलाई थाहा भएन
हामीले मात्र सोच्यौ
जंगलमा खेलिने आगोको खेल हो
र ठान्यौ साह्रै मज्जा हुँदो हो
पुन हामीले सोच्यौ
क्रसफायरिङ्ग भनेको
आगोसँग सम्वन्धित कुनै जात्रा हो
अहिले ती लाहुरे हाम्रो सामु छैनन्
तर उसले भनेको क्रसफायरिङ्ग
यो देशको छातीमा वसाँर्इ सरेकोछ
वल्ल थाहा भयो
दशवर्षसम्म चलेको क्रसफायरिङ्गले
र त्यो पनि थाहा भयो
क्रसफायरिङ्ग
कति विनासकारी हुदोरहेछ भनेर
आज हरेक नेपालीलाई
थाहा भएकोछ
क्रसफायरिङ्ग भनेको के हो ?
अव हामीले कुनै निवृत लाहुरेको कथा
सुन्नु पर्दैन
उसको उदाहरण पेश गरी रहनु पर्दैन
किनभने हामी सवै क्रसफायरिङ्गवाट
बचेका लाहुरे भएकाछौ
र हाम्रो देश लाहुरेको
स्मृति कथा जस्तै वनेको छ
अहिले हामी यो देशको
निवृत लाहुरे भएकाछौ
त्यसैले त हामी कतिसँग
आफ्नो अङ्ग छैन
आफ्नो परिवार छैन
आफ्नो घरवार छैन
मात्र हामीसँग युद्धको घाउ छ
हाम्रो छातीमा वीरताको
कुनै तोक्मा छैन
तर हाम्रो हातमा अधिकार छ
किनकी हामीले कुसंस्कारको विरुद्ध लडेका थियौ
अन्याय अत्याचारको विरुद्ध लडेका थियौ
परिवर्तनको लागि लडेका थियौ
त्यसैले अहिले नयाँयुग ढोका खुलेको छ
तर क्रसफायरिङ्गले वनाएको खतहरु
कहिल्यै नमेटिने मेडल वनेकाछन्
हामी सारा नेपालीहरुको छातीमा

No comments: