Sunday, June 29, 2008

१२. प्रसान्त महासागरको छालसंग

सगरमाथा झैं अग्लिएर
प्रसान्त महासागरको छेवैमा उभ्दा
पाइतालाहरु सुम्सुम्याएर
भाग्छन् अनायासै छालहरु
र छलाङ्ग मार्दै जिस्क्याउछ
उत्ता गहिरार्इमा पुगेर महासागर
उसको वालुवासरिको वक्षस्थलमा
गर्मी छल्ने अनगिन्ति मान्छेहरु
सागरको मोहकतामा डुवेका पर्यटकहरु
र आलिङ्गनमा बाँधिएका प्रेमीप्रेमीकाहरु
हराएकाछन् सवै महासागरको अङ्गालोमा
त्यसवेला लाग्यो मलाई
कसैलाई कसैको पर्वाह छैन
समयको कुनै मतलव छैन
किनकी दृश्यहरु अवलोकन गर्दा
त्यहि यथार्थ झल्किरहेछ
यसरी प्रसान्त महासागरको अङ्गालोमा
सवै हराउँदा म पनि हराएछु
तर उसको चिसो स्पर्शले थाहा पाए
महासागरको माधुर्यता
हो त्यसै वेला मेलै देखे
मुस्कुरार्इरहेको प्रसान्त महासागर
अथाह नीलो आँखाहरुमा
र उर्लिदै आउँने अनगिन्ति लहरहरुमा
तव सम्झे छङछङ गर्दै वग्ने
जरुवा खोलाको साङलो पानीलाई
तव सम्झे हिमालसँग विछोडिदै भाग्ने
हरियो तम्मोर नदीलाई
र सम्झे सवै खोलानाला र नदीहरुलाई
किनभने उनीहरुको गन्तव्य
यहि महासागर हो भनेर
र चित्त बुझाए
महासागरको नुनिलो स्वाद चाखेर
अनि महासागरको फैलावटलाई नियाल्दा देखे
व्हेल माछा झैं डुवुल्कि मार्दै आउँने
अजङ्गको पानी जहाजलाई
जो क्षणभर मै मेरै नजिक भएर
पौडिदै गयो अर्को महासागरतिर
तव मलाई पनि जीन्दगीको महासागरमा
त्यसरी नै पौडीन मन लाग्यो
समुद्र माथिको निलो आकासलाई हेरे
त्यहाँ स्वतन्त्र उडेका चराहरुलाई देखे
तव त्यसरी नै उड्न मन लाग्यो
आफ्नै स्वतन्त्र आकासभरि
यसरी प्रसान्त महासागरसँग झुम्दा
एउटा अपरीचीत मान्छेले सोध्यो
के तिमी प्रसान्त महासगरसँग
प्रेम गर्न चाहान्छौ ?
उसको सोधाइले मेरो अग्लिनुको स्वभिमान
त्यसै होचीएर गयो
किनकी मेरो देशलाई महासागरले
कतै मायाँ गरेको छैन
भूपरीवेष्ठित देश हुनुको पीडाले
त्यसै घोचिरह्यो
मैले सानो छँदा प्रसान्त महासागर ठानेको
त्यो गरम खोला काली दह
यौवनमा नाउ खियाउँदै डुलेको फेवाताल
त्यो भन्दा विशाल सम्झेको
सप्तकोशी प्रवाह
यीनै हुन् भूपरिवेष्ठित आँखाले देखेका
महासागरहरु
यीनै हुन् मैले देखे र जानेका महासागरहरु
किनभने आज मलाई त्यहि महसुस भैरहेछ
महासागरको न्यानो अङ्गालोले वाँधीदा
सोचे प्रसान्त महासागरले
सगरमाथालाई अलिकति मायाँ गरेको भए
सायद हाम्फाल्थे होला सगरमाथावाट
प्रसान्त महासागर गहिराईमा
र छलाङ्ग मार्दै पौडिन्थे होला
उसको न्यानो अङ्गालोमा
यसरी महासागरको अनगिन्ति छालहरुसँग
हराउँदै टोलाई रहदा
सम्झेँ यहाँ पो रहेछ सारा जीन्दगी
तव प्रत्तिउत्तरमा भन्न मन लाग्यो
त्यहि अपरीचित मान्छेलाई
के तिमी सगरमाथालाई प्रेम गर्छौ ?

No comments: