Sunday, June 29, 2008

२०. सगरमाथा र शेर्पा

हिउँको थुप्रोहरुमा
प्रयासका पाइलाहरु अविरल चाल्दै
विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने म
तेन्जिङ नोर्गे शेर्पा
व्रम्हाण्डको प्रथम हिममानव भएर पनि
विवशताले टाढीनु पर्यो आफ्नै आगनवाट
त्यहि पाइलाहरुलाई पछ्याउँदै
जोखिमपूर्ण हिमालको अंगालोमा
फेरि हिमचितुवा भए म
आङरिता शेर्पा
समयले छेकेर छेक्न नसक्ने
युद्धले भड्काएर नभड्किने गोर्खाली
आज शेर्पा भएर जन्मेको छ नेपाल

प्रत्येक नयाँवर्षो आगमन सँगै
समस्याको सगरमाथा
आरोहण गरेको हुन्छ शेर्पाले
तर हामी पत्रपत्रिकाको समाचार पढेर
उसलाई प्रशंसा गर्छौ
वास्तवमा उसले जीन्दगीको वाजी थापेर
बाच्नुको हिमाल उक्लेको हुन्छ
यसरी नै बाच्नुको हिमाल चढ्दा
माथि सगरमाथाको अंगालो मै
विलान भएका
पासाङ ल्हामु शेर्पा
र वावुछिरी शेर्पा
आज सम्झनाको लहरमा मात्र
बाचेकाछन् उनीहरु
तर पनि शेर्पाहरुको हिमाल चढ्ने बिवशता
कहिल्यै ओर्लदैन
बरु झन माथि माथि उक्लि रहन्छ
हिमालको चुचुरा तिरै

अरुहरुको सौख र होडवाजीको हिमयात्रामा
जोखीमका पाइला उचालेर
कृतिमान तोड्ने म
आप्पा शेर्पा
बिश्व नायक भएको छु
तर गौरव मात्र छ मलाई
मेरो महान कार्यको
वास्तवमा मेरो यथार्थता विर्सेकोछ देशले
जति जति यो हिमालको
अग्लाई चमेर फर्कन्छु आफ्नै गाउँ
तव मैले गरीवीको खास्टो ओढ्नु पर्छ
त्यो मेरो अवस्था देशलाई थाहा भएर पनि
वेवस्ता गरेकोछ
सारा देशवासीलाई थाहा भएर पनि
त्यसको मतलव छैन
तर पनि त्यो शेर्पा हो भन्छन्
अनि उसको शाहसको कुरा गर्छन्
र उसैले मात्र हिमाल चढ्नु पर्छ भन्ने ठान्छन्
विश्वको अग्लाई हो सगरमाथा
यहाँ जस्ले चढे पनि हुन्छ
तर शाहसी शेर्पाका पाईलाहरु
सवै भन्दा पहिले टेकिएकाछन्
त्यसैले त हिमालसँग हार्दै नहार्ने भएकोछ शेर्पा
सगरमाथा चढ्नुको विश्व कृतिमा भएकोछ शेर्पा
नयाँ इतिहासको पाना थप्ने भएकोछ शेर्पा

No comments: