Saturday, June 28, 2008

१०. पहाड

उ......त्यो पहाड
मेरा बा ' ले देखाएका हुन्
म सानो छदा
अग्लो कहिल्यै नझुक्ने
त्यो पहाड
सायद बालाई पनि
हजुरबाले देखाएको हुनुपर्छ
किनभने उनले देखे र त मलाई देखाएका हुन्
त्यसैले त पहाड प्रत्यक्ष
उदाहरण वन्दै आएको छ
आदर्शको प्रतीक हुदै आएको छ
परापूर्व कालदेखि आकास छामेर
हाम्रै सामु ठिङ्ग उभिदिए पनि
यदि हजुरबाले बालाई
नदेखाएको भए
पहाडको महत्व बालाई थाहा हुने थिएन
र हाम्रो लागि पहाड
पहाड हुने थिएन
किनकी पहाडको पहिचान नै
हजुरबा हुदै म सम्म आईपुगेको हो
आजभोलि हरेक पूर्वजहरुवाट
हरेक सन्ततीमा
पहाडको उचाई देखाउँने संस्कार वसेकोछ
हो त्यसैले त पहाडलाई चिन्यौ
र त्यसको उचाई अमरत्वलाई पनि
हामीले स्विकार्यौ
हुन त पहाडलाई पहाडै नमाने पनि
त्यो पहाड नै हो
त्यसैले त पहाडलाई आस्था वनाएकाछौ
सफलताको केन्द्रविन्दु मानेकाछौ
हामीले पहाडलाई देखेर
त्यसको अमरत्वलाई वुझयौ
त्यसको अग्लाईलाई जान्यौ
त्यसैले त अग्लिनुको महत्व
वढाएको छ पहाडले
किनकी पहाड सधै अग्लो हुन्छ
र त्यसको उचाई कहिल्यै घट्दैन
तसर्थ पहाडसँग दाँजीन नखोजे हुन्छ
मात्र पाठ सिके हुन्छ
किनभने पहाडको उचाई युगौदेखिको हो
युगौदेखि पहाडले आफ्नो उचाइको लागि
वाढीपहिरो सहदै आएकोछ
महाभूकम्पहरु थाम्दै आएकोछ
यसर्थ पहाडको उचाई कहिल्यै घट्दैन
त्यसैले पूर्खाहरुले आफ्नो उपदेशमा
पहाडलाई देखाउँने गर्छन्
पहाडको अमरत्व वुझाउँने गर्छन्
त्यहि कुरा वुझेर त
मलाई दायित्ववोध भएको छ
त्यसकारण मेरा बाले जस्तै
मेरो अवोध छोरालाई
उ........त्यो पहाड जस्तै
अग्लो वन्नु पर्छ भनेर
पुरानो यथार्थ सुनाई रहेछु
उसले पनि देख्यो त्यो अग्लो पहाड
किनकी उसका कलिला औलाहरुले
त्यहि पहाडलाई ताकिरहेछ
सायद भोलि उसले पनि
यस्तै दायित्व पुरा गर्ने छ
जसरी हजुरबा हुदै म सम्म आईपुगेको थियो
यसरी पहाड सवैको लागि
उदाहरण वन्दै आएको छ

No comments: